- सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री कार्यालय मातहत सल्लाहकारको रुपमा राख्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद्ले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको छ।
- सिधै बर्खास्त गर्दा कानुनी जटिलता पर्ने देखिएपछि कार्कीलाई जिम्मेवारीबाट मुक्त गरिएको हो।
१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
उनलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्री मातहत लगिएको हो ।

पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो ।
सिधै बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको हो ।
कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए । २४ भदौमा जेनजी आन्दोलनका बेलामा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।
उनलाई के कारणले पदमुक्त गरेको भन्नेबारे सरकारले जवाफ दिएको छैन । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले उनलाई जिम्मेवारी हेरफेर मात्र गरिएको बताएका छन् ।
गत साता पत्रकार र मिडियाका कार्यालयहरूमा प्रहरी परिचालन गरी घरपकड गरिएको थियो । उक्त काममा प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको दबाबमा भएको थियो । गैरकानुनी गिरफ्तार गर्ने लगायतका निर्देशन आइजीपी कार्कीमाथि सचिावलयले नै दिएको खुलेको थियो ।




