तत्पर खबर
काठमाडौं ,कार्तीक १५
सामाजिक क्षेत्रमा सक्रिय शीर्ष २५ सक्रिय युवा समूह ले आफ्नो स्थापनाको ६ वर्ष पूरा गरेको छ।

युवाको जोस, जाँगर र सकारात्मक सोचलाई सामाजिक रूपान्तरणमा जोड्ने उद्देश्यसहित स्थापना भएको शीर्ष २५ सक्रिय युवा समूहले छैटौँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। युवाहरूको सक्रियता, सामूहिक प्रयास र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै अघि बढिरहेको यस संस्थाले आफ्नो यात्राको छैटौँ वर्ष पूरा गर्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो।

पछिल्लो समय देशको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनमा युवाहरूको भूमिका र नेतृत्वको बहस तीव्र भइरहेका बेला युवाहरूलाई संगठित गर्दै समाजका लागि सकारात्मक योगदान पुर्याउने उद्देश्यले अघि बढिरहेको यस समूहको यात्रा अझ अर्थपूर्ण देखिन्छ।

छैटौँ वार्षिक साधारणसभामा संस्थाका सदस्यहरूले संस्थाको गतिविधि, प्रगति, आगामी कार्ययोजना तथा संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए। सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्नुका साथै सदस्यहरूले आफ्ना रचनात्मक सुझाव र विचारसमेत राखेका थिए।
संस्थालाई अझ पारदर्शी, सबल र उपलब्धिमूलक बनाउँदै आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता सभामा व्यक्त गरिएको छ।
संस्थाका अध्यक्ष वासुदेव गौतमले साधारणसभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, पदाधिकारी, संयोजक तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले संस्थाको आगामी यात्रामा पनि सबैको साथ, सहयोग र रचनात्मक सुझावले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

युवाको शक्ति, समाजको परिवर्तन र समृद्ध भविष्यको संकल्पसहित छ वर्षको यात्रा पूरा गरेको शीर्ष २५ सक्रिय युवा समूहको आगामी यात्रा अझ सशक्त, सिर्जनशील र उपलब्धिमूलक बन्ने अपेक्षा गरिएको छ।



