काठमाडौं, कात्तिक १८ गते। नेपाली धार्मिक तथा भजनसङ्गीतको क्षेत्रमा विगत १५ वर्षदेखि निरन्तर साधनारत एउटा नाम हो— अशोक पाण्डे। भजन गायन, लेखन तथा लय संकलनमा सक्रिय पाण्डेले आफ्नो सांगीतिक यात्रालाई भगवान्प्रतिको आस्था, भक्ति र साधनासँग जोड्दै आएका छन्।

नेपाली संगीत क्षेत्रमा चर्चामा आउने कलाकार धेरै छन्। तर कतिपय यस्ता सर्जक पनि छन्, जो वर्षौँदेखि आफ्नो कला र सिर्जनामा निरन्तर लागिरहेका छन्, तर सार्वजनिक रूपमा भने अपेक्षाकृत कम चर्चामा छन्। अशोक पाण्डे पनि यस्तै एक सर्जकका रूपमा चिनिन्छन्।

पाण्डेका सिर्जनामा भगवान् श्रीकृष्णप्रतिको भक्ति र आध्यात्मिक भावनाको विशेष झल्को पाइन्छ। उहाँका सिर्जनात्मक योगदानसँग जोडिएका बहुचर्चित भजनहरूमा ‘यो पनि कृष्णको, त्यो पनि कृष्णको, सारा संसार कृष्णको, म पनि कृष्णको’, ‘सके त भगवान् पूजा गरौँला, नसके भगवान् शरण परौँला’, ‘ॐ नमो भगवते वासुदेवाय’, ‘कृष्ण भजन गाइरहनु होला’, ‘देवघाट नारायणी’ तथा ‘श्री गणेशाय नमः’ जस्ता भजनहरू रहेका छन्।
भजनलाई केवल मनोरञ्जनको माध्यम नभई मनको शान्ति, आस्था र आध्यात्मिक चेतना अभिव्यक्त गर्ने माध्यमका रूपमा लिने पाण्डेले लेखन, गायन र लय संकलनमार्फत आफ्नो छुट्टै सांगीतिक पहिचान निर्माण गरेका छन्।

भजनको शब्द सिर्जना गर्नु, त्यसलाई भावअनुसार लयमा ढाल्नु र भक्तिभावपूर्ण स्वरमार्फत श्रोतासम्म पुर्याउनु आफैँमा लामो साधना र समर्पणको विषय हो। पाण्डेको १५ वर्ष लामो सांगीतिक यात्रा यसै साधना र निरन्तरताको उदाहरण हो।
आजको चर्चामुखी सांगीतिक वातावरणमा लोकप्रियताको दौडभन्दा आफ्नो सिर्जना र साधनालाई प्राथमिकता दिँदै आएका पाण्डेको योगदानको उचित मूल्याङ्कन र प्रचारप्रसार हुन आवश्यक देखिन्छ।
कलाकारको वास्तविक पहिचान केवल चर्चाले होइन, उसको सिर्जना, साधना र योगदानले निर्धारण गर्छ। १५ वर्षदेखि भजनसङ्गीतमा निरन्तर समर्पित अशोक पाण्डे नेपाली भजनसङ्गीतका यस्तै एक साधक हुन्।
न प्रचारको मोह, न चर्चामा आउने हतार! गायन, लेखन र लय संकलनमै रमाइरहेका अशोक पाण्डे।




