काठमाडौँ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म ‘जदौ’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रम बिच सार्वजनिक ट्रेलरमा अन्तर्जातीय सम्बन्धप्रति समाजमा व्याप्त विभेद,भेदभाव र उल्झनको विषय प्रस्तुत गरिएको छ । मुल कथा सस्पेन्स नै राखिएको ट्रेलरमा हाँसो,रोमान्स तथा रोदनको समिश्रण देखिन्छ । काजी लिम्बूको लेखन रहेको ‘जदौ’ लाई निर्माण पक्षले सामाजीक सन्देशयुक्त मनोरञ्जनात्मक फिल्मको रुपमा अर्थउदै आएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रम निर्देशक अञ्जनले आफूहरूले नेपाली समाजमा यद्यपि ब्याप्त जातीय विभेद,धनीमनीले गरिब–निर्धालाई गर्दै आइरहेको थिचोमिचोजस्ता गैरमानवीय कार्यविरुद्ध चलचित्रको माध्यमबाट सशक्त आवाज उठाउने प्रयास गरेको बताए । उनले फिल्मले नेपाली जनजीवनको मौलिक कथा बोकेको जोड दिँदै प्रस्तुत विषयले समाजलाई मनोरञ्जनका साथै सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । अर्का निर्देशक काजी लिम्बूले आफूहरूले वर्षौँदेखि भन्न चाहिरहेको कथा ‘जदौ’ मार्फत प्रस्तुत गरेको बताए । उनले ‘जदौ’ हेर्ने मात्र नभई महसुस र मनन गर्नुपर्ने विषयको फिल्म भएको दाबी गरे ।


अभिनेता मुकुन भुसालले ‘जदौ’ मा आफूले विगतका भन्दा भिन्नै भूमिका र चरित्र निर्वाह गरेको बताए ।

अभिनेत्री नीति शाहले ‘जदौ’ मा आफूले निकै मिहिनेत गरेको र परिणाम पनि सुखद आउनेमा आशावादी रहेको बताइन् । अभिनेता प्रभात पाल ठकुरीले यो आफ्नो करिअरका लागि निकै महत्त्वपूर्ण फिल्म भएको बताउँदै आम दर्शकलाई ‘जदौ’ हेर्न आग्रह गरे । कार्यक्रममा अभिनेत्री गीता अधिकारी र अभिनेता नरेश पौडेलले पनि आफ्नो भूमिकाको बारेमा बताउँदै ‘जदौ’ राम्रो बनेकाले दर्शकको साथ पाउनेमा ढुक्क रहेको बताए । कार्यकारी निर्मात्री शान्ति पुडासैनीले निकै मिहिनेत र दुखका साथ चलचित्र निर्माण गरेको स्मरण गर्दै सम्पूर्ण दर्शकलाई ‘जदौ’ हेर्न आग्रह गरिन् । निर्माता डिल्लीराज पोखरेलले चलचित्रले मनोरञ्जनका साथै आम जनमानसमा जातीय बिभेदबिरुद्धको आवाज समेत बुलन्द गरेको स्मरण गराउँदै यस प्रकारका फिल्मलाई सबैले साथ दिनुपर्ने धारणा राखे । चलचित्रकी कन्सेप्ट डिजाइनर विमला भण्डारीले आम नेपालीलाई ‘जदौ’ हेर्न आग्रह र आव्हान गरिन् ।

असोज ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्ममा मुकुन,नीति, प्रभातपाल,ऋचा शर्मा,गीता अधिकारी,नरेश पौड्यालका साथमा राजश्री थापा,विनोद न्यौपाने,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटालगायतले अभिनय गरेका छन् । श्याम तामाङ र नवराज उप्रेती (गीत) को छायांकन रहेको ‘जदौ’ को सहनिर्मातामा राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल र नारायण शास्त्री छन् ।
सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मलाई एनजिसिएन ग्रुपले वितरण गर्दैछ ।



