काठमाडौं। क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन) को आयोजनामा ‘कवितासंवाद ५.०’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
‘कवितामा विचार, विचारमा संवाद, संवादले बनाउँछ उज्यालो समाज’ भन्ने मूल नाराका साथ शनिबार डिल्लीबजारस्थित सुसरा क्याफेमा कार्यक्रम आयोजना गरिएको हो।

![]()
कार्यक्रममा साहित्यिक क्षेत्रका अग्रज तथा अनुज पुस्ताका स्रष्टाहरूले आफ्ना कविता प्रस्तुत गर्दै कवितामार्फत विचार र भावनाको आदानप्रदान गरेका थिए। कार्यक्रममा कविता वाचनसँगै साहित्यिक अन्तरक्रिया ,आसु कवि र घुम्ती कविता कार्यक्रमसमेत समावेश गरिएको थियो। घुम्ती कविता प्रस्तुतिले कार्यक्रमलाई थप सिर्जनात्मक र रोचक बनाएको थियो।
कार्यक्रमका अध्यक्ष सुशील आचार्यले साहित्यिक क्षेत्रमा अग्रज र अनुज पुस्तालाई एकै ठाउँमा जोड्दै आपसी सद्भाव, सहकार्य र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। अग्रजको अनुभव र अनुजको नयाँ सोचलाई जोड्दै साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो।

कविता, विचार र संवादमार्फत पुस्ताबीचको साहित्यिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्य बोकेको कार्यक्रमले नेपाली साहित्यिक क्षेत्रमा सहकार्य र सिर्जनात्मक आदानप्रदानको सन्देश दिएको छ।
संस्थाका अध्यक्ष तथा कवितासंवादका संयोजक सुशील आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा कवि कल्पना काफ्ले, कल्पना मरासिनी, सिकारु राम, शम्भु गजुरेल, अभिनव वात्स्यायन, मधुसूदन पराजुली मानव, अशोक बोहरा, एस.आर. दुवाडी, भूवन अथर तथा मुक्तककार विजय घिमिरे विफलको उपस्थिति थियो ।
आयोजक: क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गगठन नेपाल (आस्लुन )




