नेपाली कांग्रेस हुम्लाका नेता मंगलबहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । पार्टीले कारबाही फुकुवा गरेको एक वर्षपछि नेता शाही रास्वपा प्रवेश गर्नुभएको हो ।
नेता शाही रास्वपामा प्रवेश गरेको सो पार्टीका हुम्लामा सभापति लक्ष्मण ऐडीले बताउनुभयो । रास्वपा प्रवेश गर्ने नेता शाहीलाई उक्त पार्टीका सभापति रवि लामिछानेले खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

![]()
२०४६ सालबाट नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको राजनीति सुरु गरेका शाहीलाई २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका कारण पार्टीले कारबाही गरेको थियो ।
२०५९ सालमा कांग्रेस विभाजन हुँदा नेता शाही नेपाली कांग्रेस हुम्लाको पार्टी सभापति हुनुभएको थियो । पछि पार्टी एकीकरण हुँदा उहाँ सह–सभापति हुनुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँलाई नेपाली काँग्रेसले सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा टिकट दिएको भएपनि उहाँ पराजित हुनु भएको थियो । पछि २०७४ साल कै प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँलाई काँग्रेसले प्रतिनिधि सभा सदस्यमा टिकट दिएको थियो । उक्त निर्वाचनमा नेता शाहीले ४७ मतान्तरले निर्वाचनमा पराजय भोग्नुपरेको थियो ।
![]()
२०७९ सालको प्रदेश सभा निर्वाचन ‘क’ क्षेत्रमा शाहीलाई पार्टीले टिकट नदिएपछि बागी उम्मेदवार हुनुभएको थियो । त्यसैगरी, सिमकोट गाउँपालिका– ७ मा २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित राजबहादुर शाही पनि रास्वपामा प्रवेश गर्नुभएको छ ।




